पशुपतिनाथलाइ न्याय मिल्यो
वार्षिक ५१ हजार भाडा तिरेर पाँच करोड आम्दानी गर्दै आएको गौशाला धर्मशालासँगको सम्झौता रद्द :
पशुपति क्षेत्र विकास कोषले कौडीको भाउमा लिजमा दिएको पशुपति गौशाला धर्मशालासँगको सम्झौता रद्द गरेको छ ।
काठमाडौंको मुटु गौशाला चोकमा रहेको नौ रोपनी नौ आना जग्गा मारवाडी सेवा समितिले वार्षिक ५१ हजार रुपैयाँमा प्रयोग गर्दै आएकामा अब चलनचल्तीको मूल्यअनुसार लिजमा लगाउने भन्दै सम्झौता रद्द गरेको हो ।
कोषका अध्यक्षसमेत रहेका पर्यटनमन्त्री सुदन किराँतीको अध्यक्षतामा बुधबार बसेको सञ्चालक समितिको बैठकले सम्झौता रद्द गर्दै १५ दिनभित्र नयाँ सम्झौताका लागि मारवाडी सेवा समितिलाई समय दिने निर्णय गरेको छ । अब चलनचल्तीको मूल्यअनुसार सो जग्गा लिजमा दिने कोषले जनाएको छ ।
‘मारवाडी सेवा समितिले कौडीको भाउमा सो जग्गा लिजमा लिई त्यहाँ व्यापार पनि गर्दै आएको छ,’ कोषका सदस्य राजु खत्रीले भने, ‘लिजका कारण कोषलाई ठूलो नोक्सान भएको छ, जसकारण पुरानो सम्झौता रद्द गरी नयाँ मूल्यांकनमार्फत सम्झौता गर्ने निर्णय गरेका छौँ ।’ पर्यटन मन्त्री सुदन किरातीको यो कदम स्वागतयोग्य छ ।